चन्दा नदिएको भन्दै रौतहटमा मेयरमाथि हातपात

चन्दा नदिएको भन्दै रौतहटमा मेयरमाथि हातपात

जेठ २२, काठमाडौं । 
रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख मोहम्मद साकिल अख्तरमाथि गए राति हातपात भएको छ।

स्थानीय मस्जिदमा इद मनाउने क्रममा स्थानीय शेख निषाधले चन्दा मागेको र मेयरले मागेजति चन्दा नदिएको भन्दै उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

राजपुर नगरपालिकाका सूचना अधिकारी बैजु ठाकुरका अनुसार आक्रमण गर्ने युवाहरूले अख्तरको टाउकोमा टर्च लाइटले प्रहार गरेर घाइते बनाएपछि उनलाई गएराति नै जिल्ला अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगन्ज लगिएको थियो। आक्रमण गर्ने युवाहरू फरार छन्।  मेयर अख्तरको टाउको र आँखामा गहिरो चोट लागेको छ।

अख्तरले चन्दाको निहुँ भएता पनि आफूलाई सुनियोजित रूपमा आक्रमण गरिएको प्रतिक्रिया दिएका छन्।

घटनापछि अहिले राजपुरमा जिल्ला प्रहरी कार्यालय गौरबाट पनि प्रहरी पठाएर आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।