बडीमालिकाको चित्कार!
कृष्ण ज्ञवाली/अनिल सापकाेटा
म सग्ली थिए, अहिले विकासको नाममा मेरा अंगहरु चिर्न थालिएका छन् । देवीको दर्शन लागि मेरो सुन्दरता नबिगारिकन बनाइएका पदमार्ग अपहेलित भएको छ । मेरो बनावट कडा छैन् । मेरो पेटहरुमा डोजरले बाटोरुपी घाउ बनाउँदा म कमजोर हुन जान्छु । अन्तिममा, म ती घाउँहरुले भुक्षयको रुप लिदा कुरुप हुँदै जान्छु । मेरा हराभरा र सुन्दर शरीरमा चिथोरिएका घाउँहरु सधैभरी खतमा रुपमा रहिरहने छन् । ती खतहरु पुर्दा म माथी कस्मेटिक लेपन त होला तर यि मेरो भित्री चोटहरू निको पार्ने ओखती छैन् ।घुम्ने मेचमाथी बसेका तथातथिक नेतृत्वलाई मेरो सुन्दरता बिगार्ने अधिकार छैन् । मलाई आधुनिक विकासको नाम दिएर नङ्ग्याउने काम बन्द गर, मलाई मेरै स्वरुपमा रहन देउ शान्त, सुशिल अनि सुन्दर । म डोजरले चिथोरिएका बाटोमा चलाइने गाडीको घोर विरोध गर्दछु ।
माथीका भावहरुले झल्काईसके कि सबै विकास डोजरले गरिनु हुदैन् भन्ने । विकासका नाममा त्यहाँको भू-वनोट कस्तो छ भन्ने कुराको हेक्का समेत नराखी बडीमालिकामा डोजर चलाइनु दुर्भाग्य हो । शब्दका लागि माफी चाहान्छु, तर कथित नेता भनाउदाहरु प्राय अबिवेकी छन् । हनुमान कार्यकर्ताले उनीहरुको कदमलाई प्रतिवाद गर्ने ल्याकत राख्दैनन् । प्रकृति क्षद विक्षद हुनेगरि गरिएको दोहनलाई त्यहाँका नागरिकहरूले टुलुटुलु हेरि मौन बस्नु कुकर्मको समर्थन गर्नु हो ।
परसम्मको जमिन थर्काएर सुन्दर पाटन चिर्थोदा त्यसको स्वरुप मात्र बिर्गीदैन्, पदमार्गमा पर्ने दर्जानौको संख्यामा रहेका मन्दिरहरु ढल्ने निश्चितप्राय छ । बडीमालिका यात्रामा पर्ने ती पृथक तरिकाले निमार्ण गरिएका देवीका थानहरु थकाइ मार्ने सारथी मात्र होइनन्, तिर्थालुको आस्थाको केन्द्र समेत हुन् ।
गतवर्ष बडीमालिका दर्शन गर्न जादाँ त्यहाँको सुन्दरता अनुभव गर्ने मौका पाएका थियाैँ । त्यहाँको माटो चट्टानी पहाडकाे तुलनामा कमजोर खालको छ । रूखहरू समेत नरहेका ती पाटनमा डोजरले बाटो बनाउँदा हुने कम्पनले वर्षैपिच्छे पहिरो र भूक्षय निश्चितप्राय छ । बडीमालिका दर्शन गर्न सहजताकै लागी केवलकार उत्तम विकल्प हुन सक्छ जसले त्यहाँको सुन्दरता बिगार्दैन । प्राकृतिक हिसावले बडीमालिका निकै सुन्दर ठाउँ हो । त्यसको प्रत्यक्ष अनुभव गर्ने कार्यमा सहयोग गर्ने भरतविक्रम शाह र धन रावलप्रति सधै कृतज्ञ रहने छाैँ । बडीमालिका पुग्दा एउटा छुट्टै अनुभव हुन्छ । थाकेको शरीर वरिपरिका मनोरम दृश्यले आनन्दित भैरहेको हुन्छ ।
धार्मिक मान्यता अनुसार बडीमालिकाकाे तीर्थयात्रा मार्तडी बाट सुरु भई नाटेश्वरीमा आएर समाप्त हुन्छ । मार्तडीबाट उक्लिएर सुरु हुने यात्रामा डुम्रे, खलाडिल, खामे, ओढार, चल्लेसैन, फूल चढाउने, लादे, वारीपाटन, शोतापाटन, घोडापाटन, भिचिन्ना पाटन, दौडा लाग्ने, नौफेरी, त्रिवेणी, लौरीविनायक, वासुधारै हुदै बडीमालिको दर्शन गरेर नाटेश्वरीमा दर्शन गरेपछि पदयात्रीका लागि बडीमालिका तीर्थयात्रा समाप्त हुन्छ । माथी वर्णन गरिएका स्थानमा निर्माण गरिएको थानहरु मासिए बडीमालिका तीर्थ अपूर्ण हुन पुग्छ ।
बडीमालिकामा बर्सेनि जनैपूर्णिमाको अवसर पारेर लाग्ने मेलामा भारतबाट समेत श्रद्धालु भक्तजनहरु तीर्थयात्रा गर्न आउछन्। तीनवटा नदीको संगम रहेको त्रिवेणीधामको छुट्टै धार्मिक महत्व छ। पितृहरुको श्राद्ध गरे पितृ खुसी हुने जनविश्वास रहेको त्रिवेणीमा अन्य तीर्थयात्री पनि नुहाईधुवाई चोखो खाएर बडिमालिका उक्लिन्छन् ।
समुद्री सतहदेखि ४२०० मिटरको उचाइमा अवस्थित बडीमालिका यात्राभर बाटैभरी हरिया फराकिला पाटन, ढकमम्क फूल्ने रंगी विरंगी जंगली फूलहरू, थुप्रै स-साना मन्दिर, खोला, झरनाले आनन्दित महसुस हुन्छ । छिनछिनमा बदलिरहने मौसम, कतै खुल्ला फराकिलो त कतै साँघुरो बाटोलो यात्रामा थप उत्साह थप्छ ।
खप्तडलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पर्यटन व्यवसायी दिपक बहादुर खड्काले बडीमालिका जानका लागि भनेर डोजरले बाटो खनेको तस्वीर सामाजिक सञ्जालमा राख्दै उक्त कार्यको विरोध गर्दै लेखेका छन्, "यहाँ के गर्न खाेजिदै छ ..? यि तस्बिरहरू बडीमालिका क्षेत्रका हुन् । अब दाेष कसलाई दिने मुर्ख जनप्रतिनिधि वा भाेट दिने जनता.... ! बुझ्नेलाई श्रिखण्ड , नबुझ्नेलाई खुर्पाकाे बिड !"
बडीमालिका सुदुरपश्चिमकाे शान हाे । सुदुरपश्चिमकाे सुन्दरता चिनाउन लागि यस क्षत्रकाे महत्वपूर्ण भुमिका छ । यस क्षेत्रको सुन्दरता कायम राख्नको लागि यसलाई जस्ताकाे त्यस्तै राख्नु हरेक नागरिकको कर्तव्य हो । डोजर लगाएर बडीमालिका क्षेत्रको सुन्दरताको तहसनहस पार्नु ठूलाे पाप हो । यस्ता पापी कर्मलाई निस्तेज पार्न त्यहाँका स्थानियहरु जागरुक हुनुपर्ने समय आएको छ । बेलैमा बडीमालिकाको यो चित्कार सबै समक्ष पुगोस र त्यहाँको भू-बनोट जस्ताको त्यस्तै राख्ने कार्यमा पहल होस् ।
जय बडीमालिका !
Facebook Comments