दुई दिनदेखि मनाङमा लागेको आगो अझै नियन्त्रण आएन

दुई दिनदेखि मनाङमा लागेको आगो अझै नियन्त्रण आएन

मनाङ, १७ माघ ।
मनाङको ताचैमा दुई दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । चारैतिर अग्ला डाँडाकाँडाको बीचमा ६३ घरधुरी रहेको ताचै बस्तीका स्थानियले रातदिन नभनी भोकभोकै आगो निभाउन खटिरहदा पनि हालसम्म आगो नियन्त्रण भन्दा बाहिर रहेका वडाध्यक्ष गुरुङले बताए ।

तिल्चेबाट आगोले बाटो परिवर्तन गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन थप कठिन भएको उनले बताए । सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाएर पाइपमा ल्याइएको पानी बाल्टीमा राखेर आगो निभाउने प्रयास भइरहेका उनले जानकारी दिए ।

स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (ए क्याप) ले चासो नदिएको गुनासो गरे । आगोले ए क्याप क्षेत्रको २ हजार हेक्टर जङ्गल सखाप पारेको छ । जङ्गल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन् । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे तिल्चेका वडा अध्यक्ष गुरुङले जानकारी दिए। 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो लगाउने व्यक्तिको खोजी गरी कारवाही गरिने बताए । 'आगोको त्रासमा प्रशासन भयवित भएका जनतालाई सुरक्षा दिन दिनरात नभनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बस्ती जोगाउने काम भइरहेको छ', उनले भने ।