जनगायक जेबी टुहुरेको निधन

जनगायक जेबी टुहुरेको निधन

काठमाडौं, १० भदौं ।
प्रगतिशिल तथा जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । 

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि गायक टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार बयोधा अस्पतालमा  निधन भएको हो ।

जनवादी तथा प्रगतिशिल गायकको छवि बनाएका टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका रोगीसमेत थिए । 

उनको जन्म वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा भएको थियो ।

२०१० सालबाट सांगीतिक यात्रा सुरु गरेका जेबीले २०२० को दशकदेखि कम्युनिस्टका गीत गाउँदै हिँडे । माले हुँदै एमाले निकट रहेका टुहुरे वि।सं।२०६६ सालपछि माओवादी निकट थिए । २०७० सालको संविधानसभामा निर्वाचनमा टुहुरे माओवादीबाट संविधानसभा सदस्य भएका थिए ।

२०२१ सालमा पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उनले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गरेका थिए ।


जेबीले गाएको गीत ‘आमा दिदी बहिनी हो’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लगायतका गीत चर्चित छन् ।