अंगीकृत नागरिकता राष्ट्रको अस्तित्वसित जोडिएको विषय हो : गृहमन्त्री बादल

अंगीकृत नागरिकता राष्ट्रको अस्तित्वसित जोडिएको विषय हो : गृहमन्त्री बादल

७ असार, काठमाडौं । 
गृहमन्त्री रामबहादुर थापा बादलले अंगीकृत नागरिकता राष्ट्रको अस्तित्वसित जोडिएको विषय भएको बताएका छन् । 

आइतबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा बोल्दै गृहमन्त्री बादलले भने, "अंगीकृत नागरिकता व्यक्तिको अस्तित्व र पहिचानसित भन्दा पनि राष्ट्रको अस्तित्वसित जोडिएको प्रश्न हो। त्यसकारणले पनि यो अति महत्त्वपूर्ण र संवेदनशील छ। यो राष्ट्रको सुरक्षासँग जोडिएको प्रश्न हो। राष्ट्रको प्रगतिसित जोडिएको विषय हो।"

उनले विधेयक ल्याउने जिम्मेवारी सरकारको हो र त्यो सरकारले ल्याएको भन्दै विधेयकमाथि सरकारको धारणा पनि विधेयकसँगै आएको बताए।

'यो अंगीकृत नागरिकतामा समाधान गर्दा हामीले यसरी गर्नुपर्‍यो कि राष्ट्रिय एकता कायम होस्, सुदृढ होस्। जुन ढंगले प्रस्ताव आएको छ, त्यसले राष्ट्रिय एकता खलबलिने हो कि, साम्प्रदायिक सद्भाव खलबलिने हो कि भनेर माननीयज्यूहरुले प्रश्न उठाउनुभएको छ, राष्ट्रवाद र राष्ट्रघातको प्रश्न उठाउनुभएको छु,' उनले भने, 'ती प्रश्न जायज छ। तैपनि यो समस्यालाई हल गर्नुपर्छ। हल गर्ने संयन्त्र र जिम्मेवारी सदनलाई र व्यवस्थापिकालाई हो।'