नेपाल पक्षलाई ओलीको आह्वान: 'आउनुस्, केही समस्या भए छलफल गरौं'

नेपाल पक्षलाई ओलीको आह्वान: 'आउनुस्, केही समस्या भए छलफल गरौं'
file photo

काठमाडौं, २७ वैशाख । 
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई हतारोमा कुनैपनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन् ।

सरकारलाई विश्वासको मतमाथि संसद्‌मा मतदान हुन केही घण्टा बाँकी छँदा ओलीले आफ्ना दलका सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न आह्वान गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिन बैठक बस्न लागिरहेको अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘नेकपा ९एमाले० संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’

उनले आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने जनाउँदै हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने बताएका छन् । ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’ प्रधानमन्त्रीले लेखेका छन्।