हिमपात प्रभाव: हुम्लामा हवाई सेवा अवरुद्ध

हिमपात प्रभाव: हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला, २३ माघ ।
हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो । 

बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन सकेन । 

विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुसमेत सिमकोटमै रोकिएका छन् । 

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा तल्लो क्षेत्रभन्दा बढी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले उत्तरी हिल्सामा आवतजावतसमेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेका कारण जनजीवन प्रभावित भएको छ । 

हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् भने कृषक खुसी भएका छन् ।