नेकपा विभाजन: धूम्बाराहीमा एमालेको बोर्ड, पेरिस डाँडामा माओवादी केन्द्र

नेकपा विभाजन: धूम्बाराहीमा एमालेको बोर्ड, पेरिस डाँडामा माओवादी केन्द्र

काठमाडौं, २५ फागुन । 
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धूम्रबाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरिएको छ । 

अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई मान्यता नदिएपछि आआफ्ना पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रम बढ्दै छ । 

एकीकरणपूर्व एमाले केन्द्रीय कार्यालय  धूम्बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा रहेका थिए । २०७५ जेठ ३ गते एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालयको साइनबोर्ड राखिएको थियो ।  धूम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेरिएकोे कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। 

पेरिस डाँडामा रहेको नेकपाको केन्द्रीय कार्यालयमा पनि मंगलबार नेकपाको बोर्ड हटाएर माओवादी केन्द्रको राखिने भएको छ । कार्यालय श्रोतका अनुसार मंगलबार साझ माओवादी केन्द्रको बोर्ड राखिने छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भई सोही साल जेठ २३ गते निर्वाचन आयोगमा नयाँ नाम  दर्ता भएको थियो । त्यसअघि नै आयोगमा ऋषिराम कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भनी सर्वोच्च अदालतले यही फागुन २३ गते  एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।