देखिनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

देखिनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
file photo

साउन १५, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरीबी र पछौटेपन हटाउन देखिनेगरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिनेगरी काम गर्न मन्त्रीहरुलाई सचेत गराएका हुन् ।

प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरीबी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दावी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराए । उनले विकास, निर्मााणको कामलाई सहज ढंगले अघि बढाउने गरी जनताले बहुमतको सरकार बनाएको स्मरण गर्दै सोही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक भएको बताए ।

कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो ।