नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह
तस्विर सौजन्य : रिपब्लिका

चैत १५,काठमाडौँ ।  
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् ।  

राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति  अन्तर्राष्ट्रिय लगानी अपरिहार्य भएको बताउदै लगानी गर्न आग्रह गरेका छन्।  

पचहत्तरभन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै सम्मेलनमा एकत्रित भएका लगानीकर्तालाई सम्मेलनको औचित्य सुनाउँदै प्रधानमन्त्री ओलीले भने, “गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ।” 

लगानीका अथाह अवसर भएको नेपालका तीन करोड इमानदार एवं परिश्रमी नेपालीको जीवनस्तर उकास्न लगानीको आवश्यकता परेको यथार्थ सुनाउँदै नेपालको स्थिर सरकारले गरेको लगानी सुरक्षासहित मुनाफाको सुनिश्चितताबाट फाइदा उठाउन समेत प्रधानमन्त्री ओलीले आग्रह गरे । 

बुद्ध जन्मस्थल र सर्बोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमालपहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ  लगानी गर्न उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे । 

छिमेकभन्दा पर पनि नेपाली उत्पादन खपत हुने गरेका, नेपालको आन्तरिक बजार पनि बढिरहेको र मध्यमवर्गाीय जनसङ्ख्याको क्रयशक्ति बढिरहेको, विकासोन्मुख र विकसित देशले पनि अल्पविकसित नेपाललाई व्यापारको साझेदार बनाएका जनकारी दिँदै  भौतिक सम्पर्क स्थापनाका अवरोध पनि क्रमशः हट्दै गएको बताए । 

लगानीका लागि नेपाल उपयुक्तस्थल हो, जुनसुकै क्षेत्रमा लगानी गरेपनि मुनाफा प्राप्त हुन्छ भन्दै ओलीले जलविद्युत् क्षेत्र लगानीको प्रमुख केन्द्र बन्नसक्ने बताए । 

अन्तरदेशीय प्रसारणलाइन निर्माणका निम्ति आधारभूत पूर्वाधार निर्माणको प्रयास भइरहेको, बिम्स्टेक क्षेत्रमा विद्युत् व्यापार गर्ने सन्दर्भमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हालै भएको समझदारीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी आकर्षित गरेको बताउँदै प्रधानमन्त्री ओलीले पानीलाई सम्पत्तिमा रुपान्तरण गर्ने अवसर गुमाउन नहुनेमा जोड दिए ।