राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै सक्दैन : प्रम ओली

राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै सक्दैन : प्रम ओली

फागुन २७, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने बताएका छन् । 

सोमबार राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै परिषदका अध्यक्षसमेत रहेका ओलीले  यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन् । उनले भने, 'पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ, त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन। यस विषयमा कसैले चिन्ता नगरे हुन्छ।'

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुर्मुरिएको देखेर आफू आश्चर्यमा परेको पनि बताएका छन् । ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानीबिनाको माछा जस्तो भुटभुटिएका छन्’, ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच आउने कुरामा जनमत संग्रह सोच्न पनि नमिल्ने कुरा हो ।’

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने र लुटपाट गर्ने कुरा सरकारलाई  मान्य नहुने बताए । ‘देशको  शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्’, ओलीले भने, ‘कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ ।’