हटे १ सय २१ तुइन

हटे १ सय २१ तुइन

साउन २२, काठमाडौँ । 
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए ।

प्रदेश १ मा ५, प्रदेश ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ। तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ।

यसैगरी मन्त्रालयले ५०० झोलुङ्गे पुलमध्ये ४९५ वटा निर्माण गरिएको छ। प्रदेश १ मा ८४, प्रदेश २ मा २०, प्रदेश ३ मा ७३, गण्डकी प्रदेश १०२, प्रदेश ५ मा ६४, कर्णाली प्रदेश ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ।यसैगरी मन्त्रालयले १०३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ।

यसैगरी मन्त्रालयले १ हजार २३९ किलोमिटर सडकमध्ये ६०५ किलोमिटर बनाएको छ।यसैगरी मन्त्रालयले प्रदेश १ मा ९८६ किमि, प्रदेश २ मा १ हजार २०० किमि, प्रदेश ३ मा १ हजार ३५ किमि, गण्डकी प्रदेशमा१ हजार १५८ किमि, प्रदेश ५ मा १ हजार २५० किमि, कर्णाली प्रदेशमा१ हजार १४५ किमि र सुदूरपश्चिम प्रदेशमा ९७५ किमि सडक मर्मत गरेको छ। - रासस