फरक ढङ्गले सङ्घर्ष गर्ने प्रतिवद्धता सहित डा. केसीले तोडे अनसन

फरक ढङ्गले सङ्घर्ष गर्ने प्रतिवद्धता सहित डा. केसीले तोडे अनसन
तस्विर सौजन्य : New Spotlight Magazine

माघ १८, काठमाडौं ।  चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता जनाउदै डा। गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् ।

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै बिगत २४ दिनदेखी  १६ औँ अनसनमा बसेका  डाक्टर गोविन्द केसीले शुक्रबार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पत्रकार सम्मेलन गरी अनसन तोडेका हुन् ।

नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाले केसीलाई जुस पिलाएर सत्याग्रह तोडाएका हुन्। चिकित्सा शिक्षा विधेयकमा विगतमा भएका सम्झौताहरूमा सरकार असंवेदनशील भएको भन्दै केसीले आगामी दिनमा संघर्ष जारी रहने जनाउँदै तत्कालका लागि सत्याग्रह तोडेको बताएका छन्।

अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताउदै डाक्टर केसीले भने ‘चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधानलगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

सरकारले डाक्टर केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याएको दावी गर्दै आएको छ । विरोधका बाबजुद यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ।डाक्टर केसीले अनसन तोडेसँगै आन्दोलनरत चिकित्सकहरु आन्दोलनका कार्यक्रम स्थगित गरेर नियमित काममा फर्किएका छन् ।