ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर फर्किए मजदूर

ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर फर्किए मजदूर

गलकोट, १८ माघ । 
नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । 

तनहुँको दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदूर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् । 

पर्वतका ८ जना मजदूर र बागलुङ, बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला  बागलुङ पुगेका छन् । करिब ५० दिन लगाएर ठेक्कामार्फत प्रहरी चौकी भवन निर्माणमा काम गरेका उनीहरु ठेकेदार भागेपछि अलपत्र परेका हुन् । मङ्गलबार साँझ घरबेटीले आफूहरु बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका ८ जना साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै एक्लै हिँडेर आएको मिस्त्री श्रीसले बताए । रामेछापका निर्माण व्यवसायी दिलीप राईले उनीहरुलाई काममा लगाएको प्रकाश बताउछन् । 

काम सकेर रकम बुझ्ने बेलामा निर्माण व्यवसायी भागेकाले समस्यामा परेको उनको गुनासो छ । “ठेकेदारले खाना बस्नसहित दैनिक १ हजार ज्याला दिने सहमतिमा ४९ दिन काम गरियो”, प्रकाशले भक्कानिँदै दुःख पोखे, “हामी त सोझो मान्छे, पैसा देला भन्ने भयो, एक्कासि घरबेटीले ठेकेदार भागेको भन्दै कोठामा चाबी लगाए, गोजीमा १ रुपैयाँ पनि दाम नभएका कारण भोकै हिँड्नुको विकल्प भएन ।” 

दमौली बजारको अस्थायी प्रहरीचौकी भवन निर्माण गरी नजीकै ठेकदारले दिएको कोठामा बस्दै आएका ९ जना मजदूर ५ दिन लगाएर घर फर्किएका हुन् ।-रासस