अन्तरीक्ष केन्द्रमा जोडियो नेपाली स्याटलाइट

अन्तरीक्ष केन्द्रमा जोडियो नेपाली स्याटलाइट
तस्विर सौजन्य : Aviation Nepal

 बैशाख ९, काठमाडौं  । 
अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भू-उपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटेलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिकद्वय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेका सो नेपाली स्याटेलाइट वान गत वैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो। सो स्याटलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले जानकारी दिए।

अबको करिब डेढ महिनापछि सो नेपाली स्याटेलाइटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ।

नाष्टले सो नेपाली स्याटलाइट अन्तरीक्षमा प्रक्षेपणका लागि करिव २ करोड रुपैयाँ लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भइसकेको पनि जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै सोही दिन भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।