रोनाल्डोको ह्याट्रिकमा युभेन्टस पुग्यो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

रोनाल्डोको ह्याट्रिकमा युभेन्टस पुग्यो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
तस्विर सौजन्य : Evening Standard

फागुन २९, काठमाडौं । 
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को नतिजा निकाल्दै युभेन्टसले अन्तिम ८ मा स्थान पक्का बनाएको हो।

एथ्लेटिकोको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टस २–० ले पराजित भएको युभेन्टसले  दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो।

एट्लेटिको म्याड्रिडविरुद्ध महत्वपूर्ण खेलमा युभेन्ट्सका लागि तीनवटै गोल पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गरेका थिए । पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पनि दुई गोल थपे। खेलको २७औं मिनेटमै उनले टोलीका लागि पहिलो गोल गरे । ४८औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि पेनाल्टीमार्फत अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे ।

च्याम्पियन्स लिगमा एक सय २४ गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा गरेको यो आठौं ह्याट्रिक हो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको खेल तालिका आगामी शुक्रबार सार्वजनिक हुनेछ ।