प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि भरतपुरमा हुने

प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि भरतपुरमा हुने

चितवन, २७ माघ ।
चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सन्राइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बुधबारदेखि फागुन १ गतेसम्म भरतपुरको कभडहलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

चितवन जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भरत मल्लका अनुसार प्रतियोगितामा देशभरका करिव ३ सय खेलाडीहरुले ८ विधाका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १५ हजार, दोस्रो हुनेलाई ५५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउँदै छन् । राष्ट्रियस्तरका खेलाडीको समेत सहभागिता जनाउने मल्लले जानकारी दिए ।

प्रतियोगिताको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख १९ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।