नवनियुक्त कृषिमन्त्री अर्यालको उद्घोष : सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिनेछ

नवनियुक्त कृषिमन्त्री अर्यालको उद्घोष : सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिनेछ

१३ पुस, काठमाडौं ।
नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती आफु दृढ रहेको बताएकी छिन् । 

कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा  आइतबार पदभार ग्रहण गर्दै मन्त्री अर्यालले किसानले वर्षौदेखि भोग्दा आइरहेको रसायनिक मलको समस्या समाधान गर्न सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने प्रतिबद्दता प्रकट गरेकी हुन् । 

मन्त्री अर्यालले मलको समस्या समाधानका लागि सातवटै प्रदेशमा २५/२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने समेत बताइन् । ‘वर्षौदेखी किसानले भोग्दै आएको रसायनिक मलको समस्यालाई सदाका लागि हल गर्न दृढ छु । आगामी आर्थिक वर्षदेखी रसायनीक मलको समस्या समाधान गरिनेछ’, कृषि मन्त्री अर्यालले भनिन्, ‘त्यसका लागि सातैवटा प्रदेशमा २५/२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिनेछ ।’

कृषिमन्त्री अर्यालले वास्तविक कृषकको सूचिकरण गरी कृषक परिचयपत्र वितरण गर्दै कृषि मन्त्रालयबाट उपलब्ध हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्यको यही फागुनबाट शुरुआत गरिने जानकारी दिईन् । यसबाट वास्तिविक किसानले ठूलो राहत प्राप्त गर्ने अपेक्षा लिइएको समेत मन्त्री अर्यालले बताइन् । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई उद्देश्यअनुसार र प्रभावकारी ढंगले परिमार्जन गरी परिणाममुखी कार्यान्वयनमा ल्याइने मन्त्री अर्यालले बताइन् । कृषकबाट उत्पादित वस्तुले उचित बजार नपाएको र पाएपनी उचित मूल्य नपाएको व्यापक रुपमा गुनासो आउने गरेको भन्दै उनले यसको समाधान गर्नका निम्ती लागि परेर लाग्ने बताइकी छिन् । 

 ‘हाम्रा बजारलाई संघीय बजार, प्रादेशिक बजार र स्थानीय बजारमा बर्गीकरण गरी यसमा उत्पादक, ‘मिडल म्यान’ र उपभोक्ताको आम हितमा काम गर्नका लागि आवश्यक कार्यको आजैबाट शुरुआत गर्न निर्देशन दिन्छु । साथै कृषि तथा पशुपन्छीका बजार हेर्नका लागि छुट्टै निकायको व्यवस्था मिलाइनेछ ।’उनले बताइन् । सरकारबाट न्यूनतम समर्थन मूल्य तोकिएका सबै बालिनाली धान, गहुँ, मकै, दुध, उँखु बिक्रि नभएमा सरकारले जिम्मा लिनेगरी आवश्यक प्रावधानसहित यसै आर्थिक वर्षमा धानको भण्डारणका लागि धान उत्पादन हुने तराई र भित्री मधेशका जिल्लामा धान गोदाम भण्डारण स्थापना गरिने मन्त्री अर्यालले बताइन । 

नगदे बालीको रुपमा रहेको उँखु बाली उत्पादनमा संलग्न आम उखु किसानहरुको ठूूलो गुनासो र समस्यालाई निराकरण गर्न दिर्घकालिन योजना बनाई अबिलम्ब र ठोस ढंगले कार्यान्वयनमा ल्याइने मन्त्री अर्यालले बताइन् । हाल भइरहेको किसान आन्दोलनको  समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र गृह मन्त्रालयसँग तत्काल समन्वय गरी समाधान गर्न पहल थालिने मन्त्री अर्यालले जिकिर गरिन ।  

सरकारले अघी सारेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न राष्ट्रसेवक कर्मचारीहरुको योगदान महत्वपूर्ण हुने भन्दै उनले कुनैपनी कर्मचारीलाई आस्थाका आधारमा, कँहीकतै भेदभाव नगरी उसको कामप्रतिको जिम्मेवारी र लगनशिलताका आधारमा मूल्यांकन गरिने बताइन्।