गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि गुरुङ नियुक्त, आजै शपथ खुवाउने तयारी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि गुरुङ नियुक्त, आजै शपथ खुवाउने तयारी

पोखरा, २९ वैशाख। 

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पु¥याउन नसकेका भन्दै ठूलो दलको हैसियतमा पुन गुरुङलाई नै नियुक्त गरेकी हुन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ३१ सङ्ख्या पुग्ने आँकल गरिएकोमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफू तटस्थ रहने जनाएपछि बहुमत गुमेको हो । राष्ट्रिय जनमोर्चाले केन्द्रबाट विपक्षी गठबन्धनमा सहभागी हुने निर्णय गरेपनि तीन सदस्य रहेको प्रदेशसभाका कृष्ण थापा र खिमबिक्रम शाहीले आफुहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेका थिए।