टोकियोमा फेरि बढे सङ्क्रमित, बुधबार यो महिनाकै सबैभन्दा धेरै सङ्क्रमित

टोकियोमा फेरि बढे सङ्क्रमित, बुधबार यो महिनाकै सबैभन्दा धेरै सङ्क्रमित

ऐजेन्सी, ११ चैत ।
जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख १८ हजार ४ सय ६१ पुगेको छ । 

टोकियोमा बुधबार दोस्रो पटक दैनिक सङ्क्रमितको सङ्ख्या ४०० नाघेको हो । यसअघि अघिल्लो एकैदिनमा ४०९ जना सङ्क्रमित भएका थिए । सरकारी अधिकारीहरुका अनुसार राजधानी टोकियोमा गत मङ्गलबार ३३७ जना र सोमबार १८७ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको हो । कतिपय स्थानीय अधिकारीहरुले भने सार्वजनिक र ठूला कतिपय कार्यक्रमहरुका कारण सङ्क्रमण थप फैलिएको दाबी गरेका छन् । 

कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जापान ३९औँ क्रममा पर्दछ । जापानमा अहिलेसम्म ४ लाख ५७ हजार ७ सय ५४ जना सङ्क्रमित भएका छन् । 

जापानमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर ८ हजार ८ सय ६१ जनाको मृत्यु भएको  छ।