र्‍यापर लाउरेको प्रहरी हिरासत बसाई लम्बियो, अनुसन्धान गर्न अदालतको अनुमती

र्‍यापर  लाउरेको प्रहरी हिरासत बसाई लम्बियो, अनुसन्धान गर्न अदालतको अनुमती

२५ पुस, काठमाडौं । 
चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ को प्रहरी हिरासत बसाई लम्बिएको छ ।

लागुऔषध सेवन गरिरहेको अवस्थामा पोखराबाट पक्राउ परेका लाउरेसहित चारजनालाई जिल्ला अदालत कास्कीले उनलाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।

यसअघि अदालतले उनीहरुलाई आठ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । उनी लागुऔषध मुद्धामा पुस १४ गते राति पक्राउ परेका थिए । लाउरेसंगै पक्राउ परेका अन्य तीन जनाको पनि हिरासत बसाइ लम्विएको छ ।

लाउरेसहित पक्राउ पर्नेमा पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८ सभागृहकी २२ वर्षीय सुस्मिता गुरुङ छन् । 

पक्राउ परेकामध्ये नवीन गुरुङको साथबाट ०.५१ ग्राम र सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट डिजटल तराजु एक थान, ३८ हजार ३५० रुपैयाँ नगद, पाँच सेट मोबाइल र एउटा स्कुटर बरामद गरेको छ ।