‘आरआरआर’ हेर्न गएका दर्शकको मृत्यु

‘आरआरआर’  हेर्न गएका दर्शकको मृत्यु

१३ चैत, काठमाडौँ । 
भारतीय चलचित्र निर्देशक तथा पटकथा लेखक एसएस राजामौलीको बहुप्रतिक्षित ‘आरआरआर’ यतिबेला सिनेमा हलमा रिलिज भइसकेको छ। 

यस चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्टलाई मुख्य भूमिकामा देख्न सकिन्छ। सोही क्रममा चलचित्रको मर्निङ शो हेर्न गएका एक दर्शकको मृत्यु भएको छ। मृत्युको कारण हृदयघात भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

मिडिया रिपोर्टका अनुसार ओबुलेस नाम गरेका ३० वर्षीय युवकको मृत्यु भएको हो। आन्ध्र प्रदेशको अनन्तपुरस्थित एक सिनेमा घरमा उनको मृत्यु भएको जनाइएको छ। लामो समयसम्म उनको मुटुको चाल बन्द भएपछि साथीहरूले उनलाई नजिकैको अस्पताल लगेका थिए। तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

‘आरआरआर’ले चलचित्र जगतमा नयाँ रेकर्ड बनाएको छ। रिलिजअघि नै चलचित्रले वितरण, स्याटेलाइट, म्युजिकजस्ता अधिकार बेचेर करिब ८ सय करोड कमाइसकेको दाबी गरिएको छ।