भारतीय हास्य कलाकार राजपाललाई सर्लाहीमा ५६ किलोको मालासहित सम्मान

भारतीय हास्य कलाकार राजपाललाई सर्लाहीमा ५६ किलोको मालासहित सम्मान

१३ चैत, सर्लाही । 
भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् । सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार सर्लाही पुगेका हुन् । 

अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ(गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए । कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजे मात्र कार्यक्रम स्थल पुगेका थिए ।

उनलाई गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो । कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो ।

कलाकार यादवले पानमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरे । आयोजकको तर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।