क्लिन फिड लागू भएपछि बन्द भए अधिकांश विदेशी च्यानलको प्रसारण

क्लिन फिड लागू भएपछि बन्द भए अधिकांश विदेशी च्यानलको प्रसारण

काठमाडौं, ८ कार्तिक ।
शुक्रबार मध्यरातिबाट क्लिन फिड लागू भएसँगै अधिकांश विदेशी च्यानलको प्रसारण बन्द भएको छ ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विदेशी विज्ञापनरहित नभएसम्म प्रसारण बन्द भएको छ ।

नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग भएको र च्यानल क्लिन फिडमा उपलब्ध नगराएले अधिकांश च्यानलको प्रसारण रोकिएको हो ।

भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु मात्र विज्ञापन रहित भएर आएकाले प्रशारण भइरहेका छन् ।

शुक्रबार रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरीलगायतका च्यानलहरु नेपालमा बन्द छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।

यी च्यानल बन्द भएपछि हाल चलिरहेका इन्डियन प्रिमियर लिग  र इंग्लिस प्रियमियर लिग नेपालमा टिभिमार्फत हेर्न पाइने छैन ।

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो ।

त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समयदेखि सरोकारवालहरुलाई कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्नुपर्न भन्दै निर्देशन दिएको थियो ।