१७ करोड लगानीमा दुई हजार आधुनिक बत्ती जडान गर्दै काठमाडौँ महानगरपालिका

१७ करोड लगानीमा दुई हजार आधुनिक बत्ती जडान गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं, २६ मंसिर ।
काठमाडौँ महानगरपालिका ९कामपा०ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा  सहमतिपत्रमा हस्ताक्षर भएको हो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गर्नुभएको हो। सहमतिपत्र अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका क्षेत्रमा करीब रु १७ करोडको लगानीमा दुई हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने छ । 

हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्वाङले सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ क्षेत्रलाई व्यवस्थित र उज्यालो राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताए। धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । कामपा प्रमुख शाक्यले लामो समयको प्रयासपछि सहमति भएको भन्दै यस कार्यले शहरी सौन्दर्य अभिवृद्धि गर्न  ठूलो सहयोग हुने बताए । 

सहमतिपत्रमा कामपा क्षेत्रभित्रका मुख्यमुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा कामपाको ६० र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।