कोरोना प्रभाव : नेपाल–चीन व्यापार ठप्प

कोरोना प्रभाव : नेपाल–चीन व्यापार ठप्प

२४ फागुन, काठमाडौँ । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै नेपाल आउने पर्यटकको संख्या घटेको छ भने सामान आयात र निर्यात पनि प्रायः ठप्प जस्तै छ ।

नेपालमा प्रयोग हुने अधिकांश दैनिक उपभोग्य सामान चीनबाट नै आयत हुने गरेको छ । चीनले उत्पादन गरेको सामान नेपालमात्र होइन विश्वका जुनसुकै देशमा पुग्ने गरेका छन् । त्यसमा पनि नेपालमा चिनियाँ उत्पादन धेरै भित्रिने गरेका छन् ।

नेपालको कुल वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा भारतको छ भने दोस्रोमा चीनको छ । ठूलो व्यापार साझेदार चीनसँग आयात निर्यात प्राय ठप्प भएपछि त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको हो ।

सरकारले चालु आर्थिक वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चीनसँगको व्यापारमा आएको समस्याले मुलुकको आर्थिक वृद्धिलाई कसरी असर पार्छ भन्नेबारे अध्ययन भइसकेको छैन । नेपालमा करिब १५ खर्बको वैदेशिक व्यापार हुने गर्छ । त्यसमा चीनको हिस्सा २ खर्ब भन्दा माथि छ ।

अहिले नेपाल र चीनबीच आवतजावत बन्द छ । नेपाल र चीनका सीमा नाका गत जनवरीको दोस्रो सातादेखि ठप्प छ । आवातजावतमा प्रतिबन्ध नै लगाइएको छ । चीनसगँ सीमा जोडिएका तातोपानी र रसुवागढी नाका बन्द भएको १ महिना भइसकेको छ, जसका कारण तेस्रो मूलुक भएर आउने वस्तुहरुको निर्यातमा पनि कमी भएको छ ।

अहिले चीनबाट नयाँ सामानहरु केही पनि नआएको र पुरानो मौज्दात सामान पनि अन्तिम अवस्थामा रहेकाले सामानको अभाव देखिन थालेको छ । 

कोरोनाका कारण चीनको आर्थिक वृद्धि २ प्रतिशतमात्र हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । त्यसको असर नेपालमा पनि केही हदसम्म पर्ने जानकारहरु बताउँछन् । कोरोनाको प्रभाव नेपालको अर्थतन्त्रमा एकदेखि दुई प्रतिशतको हाराहारीमा पर्नसक्ने विज्ञहरुको अनुमान छ ।

विश्वका ७० भन्दा बढी देशमा कोरानाको संक्रमण फैलिएकाले नेपालमा आउने रेमिट्यान्समा पनि कमी आउन सक्ने देखिन्छ ।