रोनाल्डोले दुई गोल गर्दा पनि युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्ट्स

रोनाल्डोले दुई गोल गर्दा पनि युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्ट्स

एजेन्सी, २४ साउन ।
इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ  । 

क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै युभेन्ट्सलाई जित दिलाउँदा पनि इटालियन क्लब युभेन्टस अवे गोलका आधारमा च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको हो ।

गएराती युभेन्ट्सको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा युभेन्ट्सले फ्रेन्च कलब लियोनलाई २–१ ले पराजित गर्दै समग्रमा नतिजा २–२ को बराबरी गरेको थियो ।

पहिलो लेगको खेलमा लियोनले १–० ले अग्रता लिएको थियो ।

लियोनले दोस्रो लेगको १२औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।

तर, लियोनको अग्रता ४२ मिनेटभन्दा बढी समय टिकेन युभेन्टसले पनि ४३औँ मिनेटमा पेनाल्टी पायो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । रोनाल्डोले नै खेलको ६०औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

खेलकाे बाकी समयमा  युभेन्टसबाट कुनै पनि गोल हुन नसक्दा समग्रमा लियोन अवे गोलका आधारमा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । लियोनले अब क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

सिरि ए लिग विजेता युभेन्ट्स यस सिजन समेत च्याम्पियन्स लिगमा अघि बढ्न सकेन । ईटालीबाट च्याम्पियन्स लिग जित्ने लक्ष्य सहित युभेन्ट्स आएका रोनाल्डो दोस्रो सिजन समेत निराश भए ।

उनले युभेन्ट्सबाट लगातार दुई सिजन घरेलु लिग जितेपछि च्याम्पियन्स लिगमा असफल बन्न पुगेका छन् । शुक्रबार राति दुई गोल गरेका रोनाल्डोले युभेन्ट्सबाट एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने कायम गरेका छन् ।