पार्टीभित्रको विवाद नमिलेपछि कांग्रेस बैठक १० गतेसम्म स्थगित

पार्टीभित्रको विवाद नमिलेपछि कांग्रेस बैठक १० गतेसम्म स्थगित

पुस ४, काठमाडौं । 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पार्टीभित्रको विवाद नमिलेपछि  शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका स्थगित भएको छ । 

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास सकारात्मक रुपमा अगाडि बढेकाले बैठक १० गते १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । 

पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबिना विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको, भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरुण दलको विवाद समाधानको ठोस प्रस्ताव नल्याएको भन्दै मंसिर २६ गतेबाट सुरु बैठक नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्दै आएका छन्।

पौडेल पक्षले बहिष्कारगर्ने भएपछि यसअघि सोमबार र बुधबार बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित गरिएको थियो। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि तथा पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी विवाद समाधानका लागि प्रयासरत छन्।