लकडाउनमा कडाइ गर्दै सरकार, ६ महिनासम्म कैद हुन सक्ने

लकडाउनमा कडाइ गर्दै सरकार, ६ महिनासम्म कैद हुन सक्ने

१६ चैत्र, काठमाडौँ । 
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९  विरुद्दको लडाईमा जित हासिल गर्न सरकारले लक डाउनलाई अझ कडाइका साथ लागू गर्ने भएको छ । 

आइतबार(आज) बसेको कोभिड–१९ रोग संक्रमण तथा रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले अबको लकडाउन झन् कडाइका साथ लागु गर्ने निर्णय गरेको छ ।

बैठकले क्‍वारेन्टाइनमा बस्न नमान्ने, लुकेर गाउँघरमा बस्ने, सम्पर्क गर्दा पनि कन्ट्याक्टमा नआउनेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने निर्णय गरेको छ । 

ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउने व्यक्तिलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ।

यस्तै बैठकले भारतबाट धपाइएर र नेपालले पस्न नदिएर दशगजामा अलपत्र परेका नेपालीलाई १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने गरी नेपाल प्रवेशको अनुमति दिने निर्णय पनि गरेको छ।