नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो

काठमाडौं, २३ साउन ।
पछिल्लो २४ घन्टामा मात्र थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  नियमित लाइभ अपडेटमा शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको  जानकारी दिएका हुन् । 

मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते मृत्यु भएको हो । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो । उनलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनमा साउन २१ गते कोरोना पुष्टि भएको थियो ।

मृतकमा सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते मृत्यु भएको हो । गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो । साथै पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको हो । उनको साउन २२ गते कोरोना पुष्टि भएको थियो ।