सैनामैनाको पोल्ट्री उध्योगमा बाढी पस्दा ३ हजार कुखुरा डुबे

सैनामैनाको पोल्ट्री उध्योगमा बाढी पस्दा ३ हजार कुखुरा डुबे

अनिल सापकोटा
सैनामैना, ६ साउन ।
सोमबार राती आएको भारी वर्षापछि खोलामा उर्लिएर आएको बाढी कुखुरा फर्ममा पस्दा करिब ३ हजार ब्रोइलर कुखुरा मरेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर ७ देवापारमा रहेको सुपा देउराली पोल्ट्री उद्योगमा गएराती पसेको बाढीका कारण उद्योगमा रहेका ३५ सय ब्रोइलर कुखुरामध्ये करिब ३ हजार कुखुरा मरेको उद्योगका सञ्चालक रामलाल अधिकारीले जानकारी दिनुभयो ।

"राती करिब ९ बजे बाट भारी वर्षा भएपछि कुखुराहरु के कस्ता छन् भनेर हेर्न गए", फर्मका कर्मचारी खेमराज खनालले बताउनुभयो "हेर्दाहेर्दै खोला बढेर माथी माथी आउदै गयो, मुसलधारे पानी नरोकिएपछि बाढी फर्मभित्रै छिर्याे आँखैअगाडी करिब ३ हजार कुखुरा एक चिहान भए ।"

"बाढी पहिले पहिले पनि आएकै हो तर यति माथी को फर्ममा बाढी पस्ला भन्ने हाम्रो कल्पना भन्दा बाहिरको कुरा थियो", फर्मका सञ्चालक रामलाल अधिकारीले बताउनुभयो "३० दिनका करिब ३ हजार कुखुरा मरेका छन्, सँगै ८० बोरा दाना बाढीले भिजेर कामै नलाग्ने भएको छ ।"

"हिजो मात्र ५० बोरा दाना ल्याएका थियौँ, ३० बोरा दाना स्टक नै थियो सबै पानीले कामै नलाग्ने गरी भिज्यो", फर्मका सञ्चालक अधिकारीले बताउनुभयो "रातभर निद्रा लागेन बिहान आएर हेर्दा खोरमा एकनाशले कुखुरा पल्टिएको देख्दा झस्किए । इलक्ट्रिकका सामानहरु, जेनेरेटर सबै बिग्रिएछन । कुखुरा नभएका खोरहरुमा बाढी पसेर आशिंक क्षति भएको छ ।"

"८ वर्षदेखी यहाँ फर्म चलाइरहेका छौँ, अहिलेसम्म यति माथीसम्म बाढी आएको थिएन । खोला ठाउँमा बगिरहदा यति माथिसम्म बाढी नआउने हो तल गएपछि दुई खोला बनरहवा र इंगुरिया को संगम स्थलबाट दक्षिण बग्ने निकास सानो हुदा हामीले क्षति ब्यहोर्नुपर्याे", फर्मका अर्का सञ्चालक नारायण प्रसाद बेल्वासेले बताउनुभयो "समग्र संरचनाको बीमा गरिएपनि यो लटको कुखुराको बीमा गरेका थिएनौँ । हिजको बाढीबाट करिब २० लाख बराबरको क्षति भएको हाम्रो अनुमान छ ।"