संघीय नेपालको प्रशासनिक नक्सा सार्वजनिक

संघीय नेपालको प्रशासनिक नक्सा सार्वजनिक
तस्विर सौजन्य : creationumesh

फागुन २३, काठमाडौं । 
सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्नु भएको हो ।

नक्सामा सात वटै प्रदेश, त्यसको सीमाना, ७७ वटा जिल्ला र त्यसको सिमाना, अन्तराष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ । सबै प्रदेशको नामाकरण समेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको पनि मन्त्री अर्यालले स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेशको राजधानी र नाम पर्खेर बस्दा सो नक्सा सार्वजनिक गर्ने काममा ढिलाई भएको पनि स्पष्ट पार्नुभयो । मन्त्री अर्यालले सो नक्सा सबभन्दा पहिला सिंंहदरबारमा हस्तान्तरण गर्ने योजना पनि सुनाउनु भयो । त्यसपछि नेपालको प्रशासनिक नक्सालाई प्रदेश र स्थानीय तहमा पनि क्रमशः हस्तान्तरण गर्दै लैजाने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको योजना छ ।

सरकारले सार्वजनिक गरेको सो नक्सा नापी विभागको वेबसाईट डिओस डट जिओभी डट एनपी मा राखिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले विभागको वेबसाइटमा पनि सो नक्सा राखिएकाले त्यसैलाई आधिकारिक मानेर प्रयोग गर्न पनि सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभयो ।