लेखाई, लेख्ने शैली र कलम

लेखाई, लेख्ने शैली र कलम

                                                                                               -कृष्ण ज्ञवाली

लेख्ने बानी कसैका लागि कला हो भने कसैका लागि बाध्यता । कोहि परिवार पाल्नका लागि लेख्छन् त कोहि आफ्नो रहर मेट्नका लागि । लेख्न किन पर्छ होला ? समाचार के का लागि लेख्ने ? कतिपय लेखाईको निकै महत्व हुन्छ भने कति यत्तिकै रद्दीका टोकरीमा नामेट हुन्छन् । कतिले राजनिती लेख्छन त कतिले मनोरञ्जनात्मक भने केहिले राजनितीक दलका नेताको बखान गरेर असत्य लेख्छन् ।

कोही लेख्दै राजनिती गर्छन्, कोही लेखेरै मर्छन तर लेखाइ निरन्तर चलिरहेको छ, लेखाई अमर छ । यो लेखन शैली कसैका लागी कला किन हो भने उ त्यही कलामै रमाउछ, गाउँछ, नाच्छ, मुस्कुराउछ ।  यसमा एउटा नशा पनि छ, कतिसम्म भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको कुरा पढेर थाहा पाएका हामीमा समेत कहिलेकाही त्यो नशा चढ्छ । र कुनै यति कडा हुन्छ कि अफिमको नसा नै कमजोर हुन्छ ।

लेखाई आफैमा राम्रो नराम्रो हुदैन कलम घुमाउनेले जस्तो घुमाउछ त्यस्तै घुम्छ अनि लेखिदिन्छन त्यो पनि अक्षरमा परिणत गरेर । लेख्ने शैलीलाई पाठकको क्षमता जस्तो छ वा जसरी पाठकले बुझेको छ, तेही हिसाबले नै बुझ्छ । यो लेखलाई  पनि पाठकले भिन्ना भिन्नै तरिकाले बुझ्छन ।

कुरालाई जीवन्त दिने सम्वाहक हो लेखाई । कतिको लेखाईले आफ्नै ज्यान लियो कतिको लेखाईले अरुले ज्यान लियो । कसैले आफ्नो स्वार्थका लागी अरुको चरित्र हत्या गर्न लेखे कतिले निस्वार्थ लेख्दै गर्दा आफ्नो ज्यान नै गुमाउनु पर्यो, कति कठोर पनि छ है यो लेखाई ।

लेख्ने कलम त्यही हो । कतिका लेखाई पढ्दा आनन्दको मनमोहक वातावरणको महशुस हुने । शब्द सँगै आँखाको गति दगुर्दै जाँदा समय बितेको पत्तै नहुने । कतिको लेखाई पढ्दा दुइ लाइन पढेपछि वाक्क दिक्क लाग्ने । आखिर किन यस्तो हुन्छ ? 

संसारमा सत्य के हो ? के सबै लेखाई सत्य छन् ? सबैले बुझ्दा आफूले सत्य नै बुझेको जस्तो लाग्छ तर विडम्बना सत्य बुझेर बुझीसाध्य छैन् ।  आजको अकाट्य सत्य भोलीको असत्य साबित हुनसक्छ । लेख्नेले लेखेको समयमा हिजो पनि सत्य लेखेको छु भन्थ्यो र आज पनि भन्छ ।  कलम सँगै उसको सत्यको परिभाषा फेरिएको थाहै हुदैन ।  त्यो लेखाई जुन असत्य हुदाहुदै पनि आखिर सत्य किन भयो ।

कतिलाई तीनै शब्दले कुरुप बनाईदिन्छ त कतिलाई अत्यन्त सुन्दर । कति मान्छेको लेखाई अमुल्य हुन्छ भने कतिको लेखाई मुल्यहिन । परम्परादेखी चल्दै आएको प्वाखे लेखाई अहिले पनि चल्दैछ र यो यात्रा निरन्तर कम्प्युटरको तकनितिसंगै चलिरहको छ र चलिरहने छ । कतिलाई कसैको लेखाईले चित्त दुखाएको छ । मेरो आफ्नो लेखाईले कतिपयको चित्त अझै दुखाएको होला । यसमा मेरो दोश छैन् त्यो लेखाईको दोष हो भन्दा विचरो त्यो लेखाइको मन कति भाचिन्थ्यो होला तर के गर्नु लेखाई अरुको वेदनाप्रति नतमष्तक छ ।

आजको लेख्ने शैली भिन्न छ । लेख्ने विषयवस्तुले मनभित्र भूइचालो ल्याउदा पनि कलम भने आज त लेखाइकै बारेमा लेख र मेरै बारेमा लेख भनि आग्रह गरिरहेको छ । कति म तेरो बारेमा सधै लेख्नु आज त मेरो बारेमा लेख भनेर लेखाइको आग्रहलाई मनन गर्दै नयाँ गन्तब्यको सुरुवात गर्दैगर्दा कोरिएका शब्दहरुले लेखन्ते कलमप्रति तथा सबै लेखकप्रति हार्दिक नमन टक्राएका छन् ।

इतिहासको त्यस घडिमा जब म लेख्नका लागि बामे सर्दै गर्दा विभिन्न पत्रपत्रिकामा आफ्नो लेखाई कोरियो । शब्दलाई लगभग नाम चलेका सबैजस्तो कागजी पत्रिमा तथा अनलाइन पत्रिकामा झटारो हानियो । कतिपय ती झटारोले अर्थ राखे होलान र कतिपयले राखेनन् होला ।

राजनितीक, सामाजिक, तकनितीक, भौगोलिक, धार्मिक, लैङ्गिक मुद्दामा कलम चल्यो । कतिपयको मन भाचियो तर कलमको दम भाचिएन । कहिले काही सोझो कहिले कठोर त कहिले साहित्यको संगालोको शब्दजालमा तरङ्गित हुदै लेखियो । तर त्यो लेखाइले के दियो ? शैली ? कला ?  या त्यो लेखाइको बाध्यता नै लेख्नु थियो ?

खैर, लेख्नेहरु कलमका सच्चा भक्त हुन्छन भन्ने छैन । कलम आफैमा निर्जीव सत्यवक्ता हो । यसरी सत्यवक्ताको साथ लिदै आफ्ना लेखाइले सत्यको साथ दिने प्रतिबद्धता सहित इन्युज नेपालको भित्तामा यि शब्दहरु कोर्दै छु र अब उपरान्त येही भित्तामा आफ्ना लेखनहरु लतपत छर्ने छु । यो लेखाईलाई यस भित्तामा पढिदिनुभएकोमा स-धन्यवाद  । यस भित्तामा मनलागे जति पाल्नुहुन अनुरोध गर्दै आजबाट यस भित्ताका लागी आफ्नो लेखन शैली जारी राख्नेछु अंग्रेजी र नेपाली दुवै भाषामा । येदि तपाईलाई पनि कलमको शैली हाम्रो भित्तामा कोर्न मन छ भने हार्दिक स्वागत छ । मैले बुझेको सत्य तथा मेरै बुझाईमै खोट हुनसक्छ तर कलम भने निर्दोष छ ! त्यस्ता निर्दोष तथा सत्यबादी कलमहरु सिरोपर गर्न पाउनु मानब जतिको अहो भाग्य हो ।

 

लेखक यस न्युज पोर्टलका नेपाली भाषाका प्रधान सम्पादक हुन् ।